ओलीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिदै माधव पक्षले हस्ताक्षर फिर्ता नलिने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता पक्षीय २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ ।

गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी समेत दिएका थिए ।

ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको
छ । अर्थात ओलीले अव माधव नेपालसहितका हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्नेछन् ।

यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ । सर्वोच्च अदालतको फैसला आउने सम्मुखमा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले शंकाको दृष्टिले हेरेको छ ।

आइतबार बिहान ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेर संयुक्त विज्ञप्तिका लागि आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई नेता नेपालले सकारात्मक ठान्दै नेताहरुबीच भएको सहमतिको मस्यौदा ल्याउन र कार्यदल व्युत्याउन सुझाव दिएपनि ओली पक्ष कार्यदल व्युत्याउन प्रतिवद्ध भएको देखिएन ।

साथै तयार भएको भनिएको मस्यौदा लिएर ओली पक्षीय नेताहरु पुन नेपाललाई भेट्न समेत गएनन् । यो प्रयास असफल भएपछि ओली पक्षले आइतबार साँझ पुन माधव पक्षीय नेता भीम रावललाई बालुवाटारमा बोलाएका थिए ।

ओलीको बोलावटपछि नेता रावल बालुवाटार गएपनि उनीहरुबीच के सम्वाद भयो भन्ने खुलेको छैन । बालुवाटार जानुअघि रावलले कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गरेका थिए । स्रोतका अनुसार आइतबारै नेता नेपालले आफू निकटका नेताहरुसँगको कुराकानीमा एमाले एकता कायम राख्ने नराख्ने भन्ने बल ओलीको हातमा रहेको भन्दै उनी एकताप्रति इमान्दार नभएको निश्कर्ष सुनाएका थिए ।

साथै उनले मुखले ओलीले एकताका लागि प्रयास गरेको देखाउन खोजेपनि व्यवहारमा एकताको पक्षमा नरहेको स्पष्ट भएको बताएका थिए ।

‘बल अव ओलीको कोर्टमा छ, दोस्रो सर्वोच्चको आदेश कुर्नुको विकल्प छैन र तेस्रो सर्वोच्चको आदेशपछि हामी के गर्ने भन्ने निर्णयमा पुग्छौ’, नेता नेपालसँग कार्यकर्ताले राखेको जिज्ञासामा नेपालले भनेका थिए ।