ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव छैन

२० असार, काठमाडौं । राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताका लागि आफू अध्यक्ष केपी शर्मा ओलीतिर लागेको बताएका छन् । तर ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने उनले बताए ।

नेताद्धय ओली र नेपाल एकअर्कासँग रिसाएको बताए । रिस शान्त नभएसम्म पार्टी एकताका लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास सार्थक नहुने भन्दै उनले भने, ‘लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसंग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । दुई नेताको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको चिन्ताले काम लाग्नेवाला छैन ।

एमाले एकता अभियान चलाएका गौतम १६ असारमा अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा गएका गौतमले आफू पार्टी एकताका लागि ओलीतिर लागेको बताए ।

आफूले केन्द्रीय कमिटी बैठकमै प्रस्ताव राखेको र हलले पनि एकताको प्रयत्न बामदेवले गर्नुपर्छ भन्ने पास गरेको भन्दै उनले भने, ‘धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरुलाई भनेको छु । म त्यसको लागि प्रयत्नशील छु ।’

अध्यक्ष ओली र नेता नेपालको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ भनेर आफू लागेको उनले बताए ।

यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उपाध्यक्ष गौतमले भने, ‘सर्वोच्चको निर्णय आएपछि एकता संभव होला भन्ने लागेको छ ।’