नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध

२० असार, चितवन । लगातार आइरहेको बर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे खसेको पहिरोले सडक अवरुद्ध भएको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएसँगै खुलेको थियो । बिहीबारदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।