२० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो । डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अजरवैजानस्थित बाकु मैदानमा भएको खेलमा डेनमार्का लागि थोमस डिलाने र क्यास्पर डलबर्गले पहिलो हाफमा गोल गरे । चेकका लागि प्याट्रिक सिकले एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमै थोमस डिलेनेले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । जेन्स स्ट्रराइर लार्सनको कर्नमार पेनाल्टीमा अनमार्क रहेका डिलानेले गोल गरेका थिए ।
४२औं मिनेटमा क्यास्पर डलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । योकि माहलेको पासमा डोलबर्गले गोल गरेका हुन् । जारी युरोकपमा डलबर्गको यो तेस्रो गोल हो ।
पहिलो हाफमा दुई गोलले पछि परे पनि दोस्रो हाफमा चेकले सुरुआतदेखि नै डेनमार्कमाथि दबाब बनाउन थाल्यो । र ४९औं मिनेटमा चेकका प्याट्रिक सिकले गोल गरे । उनले भ्लादिमिर काउफलको पासमा गोल गरेका थिए ।
यस गोलपछि सिकले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समान ५ गोल गरेका छन् । रोनाल्डोले एक असिस्टसमेत गरेकोले रोनाल्डोले गोल्डेन बुट होडमा अगाडि छन् ।