राउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान

केही महिना अघि कर्णाली प्रदेशको सुर्खेतमा राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

आज दिउँसो उनीहरूलाई कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ।

न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।

‘आजै इजलास बसेर कारागार चलान गर्न आदेश भएको छ, उनीहरूलाई थुनामा पनि लिइसकिएको छ,’ उनले भने।

गुर्भाकोट नगरपालिका(९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो। उनीहरूलाई प्रहरीले जेठ २३ गते बिहान ३ बजे पक्राउ गरेको थियो।

मिलनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौनहिंसा भएको थियो।

दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो। सार्वजनिक भएको उक्त भिडिओमा एक जना पुरुष अर्धनग्न अवस्थामा छन् भने राउटे युवती ओछ्यानमा पल्टिएका छन्।

ती पुरुषले एक जना राउटे युवतीलाई बहिनी र अर्कीलाई श्रीमती भनेर सम्बोधन गर्छन्। श्रीमती भनिएकी युवतीलाई उनले संवेदनशील अंगमा छोएको भिडिओमा देखिन्छ।

नसामा रहेकी राउटे युवतीले ‘डिस्ट्रब भयो के दाइ जानु’ भनेको भिडिओमा सुनिन्छ। ती पुरुषले उल्टै ओछ्यानमा पल्टेर राउटे युवतीमाथि अश्लील हर्कत गरेका छन्।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए। यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका(११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए।