भोलि बिहान ११ बजे बस्ने एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल समूहका ११ जना नेता बाहेक अरु सबैलाई निम्ता

१५ असार, काठमाडौं । भोलि बिहान ११ बजे बस्ने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ ।

बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गरेका थिए ।

कारबाहीमा परेकाबाहेक सवैलाई बैठकमा बोलाइएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ ।

गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाए पनि सर्वोच्च अदालतले मान्यता दिएन । यसपछि २ जेठ २०७५ को एमाले पार्टी कमिटी, विधान र नेतृत्व कायम गर्ने तयारी अध्यक्ष ओलीले गरेका छन् ।