पटक–पटक संसद् विघटन अदालतबाट उल्टिँदा अस्थिरता सिर्जना भयो

नायब महान्यायाधिवक्ता, पदमप्रसाद पाण्डेय

१५ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा र्संवैधानिक इजलासमा भइरहेको बहसमा नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले पटक–पटक संसद् विघटन अदालतबाट उल्टिँदा अस्थिरता सिर्जना भएको जिकिर गरेका छन् ।

उनले पुस ५ को प्रतिनिधिसभा विघटन अदालतको आदेशमा पुनर्स्थापना भए पनि स्थिरता नदेखिएको बताए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रधानमन्त्रीको लिखित जवाफमा पनि अदालतका कारण अस्थिरता आएको भन्ने आशय देखिएको भन्दै प्रश्न गरे ‘के अदालत मात्रै कारण हो ? कि अरु पनि कारण छन् ?

नायब महान्यायाधिवक्ता पाण्डेयले अस्थिरताको एउटा कारण अदालत पनि भएको बताए । उनले भारतको उदाहरण दिँदै त्यहाँ पटक–पटक संसद विघटनपछि नै सरकार स्थिर बनेको दाबी गरे ।

उनले सर्वोच्च अदालतले विगतमा जे फैसला गरे पनि विघटनको विषयमा अरु प्रजातान्त्रिक मुलुकको अभ्यास पनि हेर्न आग्रह गरे । ‘संसद विघटन जनताको मत के छ भनेर हेर्ने ठाउँ हो । दलहरुको पपुलारिटी जाँच्ने ठाउँ पनि हो । र यो प्रधानमन्त्रीको अधिकार हो,’ उनले भने ।

पाण्डेयले भारतमा संसद् विघटन हुँदा पनि लोकतन्त्र कमजोर नभएको दाबी गरे । ‘सांसदहरुलाई सरकारलाई असहयोग गरे विघटन हुन्छ भन्ने छ, जनतालाई पनि एउटै दललाई बहुमत नदिए विघटन हुन्छ भन्ने हुँदो रहेछ भन्ने परेको छ,’ उनले भने ।

पाण्डेयले जनताले एउटै पार्टीलाई बहुमत नदिएमा पटक–पटक संसद् विघटन हुने पनि जिकिर गरे । ‘जनताले पनि बुझ्नुपर्‍यो नि एउटै पार्टी ठूलो नबनाइदिएपछि विघटन हुँदो रहेछ भनेर, विघटनको व्यवस्थाले एउटै पार्टीलाई ठूलो बनाइदिनुपर्‍यो ।’

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले नेपालमा २०४६ पछि भएका संसद् विघटनको उदाहरण दिँदै नेपालको विगतलाई कसरी हेर्ने भनी प्रश्न गरे । जवाफमा पाण्डेयले भारतमा २० वर्षमा विघटनको शृङ्खला सकिएर स्थिरता शुरु भएको भन्दै हाम्रोमा पनि समय लाग्ने जिकिर गरे ।