१४ असार, काठमाडौं । नेपाली कांग्रेसको आउंदो भाद्रा १६-२० सम्म हुन लागेको १४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्न केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । आज नेता पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
‘उहाँहरु दुबै जना सभापतिको आकांक्षी हुनुहुन्छ, दुबैले एकअर्कालाई सहयोग गर्न आग्रह गरे । यो पटक मलाई सहयोग गर्नुस् भनेर शेखरसँग आग्रह गर्नुभयो तर शेखरले तपाईं प्रधानमन्त्री बन्नूस्, म सभापति बन्छु भन्नुभयो ।’
वरिष्ठ नेता पौडेलले लामो राजनीतिक यात्रामा सधैं निष्ठापूर्वक काम गरेको भन्दै एकपटक सभापति बन्ने इच्छा रहेको बताएका थिए । तर कोइरालाले आफूले १३ औं महाधिवेशन लगत्तै सभापतिमा उम्मेदवारी दिने तयारी गरिसकेकाले पछाडि फर्कन नसक्ने जवाफ दिएका थिए ।
‘तपाईंहरुको उमेर, अनुभव र निष्ठाको राजनीतिका कारण प्रधानमन्त्री बनेर योगदान दिनुस्, तपाईंलाई आउने आम निर्वाचनमा पार्टीकातर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढाउन तयार छु,’ कोइरालाले पौडेललाई भनेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुको भेटघाट बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिने बताइसकेका छन् भने संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
आकांक्षी धेरै भएकाले सहमतिमै नेतृत्व चयन गर्न नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको हो । सोमबार दिउँसो केन्द्रीय सदस्य सुजाता कोइराला निवासमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको लञ्च मिटिङ भएको थियो ।
उक्त बैठकमा क्रियाशील सदस्यताको विषयमा कुराकानी भएको ती नेता निकट स्रोतले बताएको छ । कांग्रेसमा अहिले आठ लाख भन्दा बढी क्रियाशील सदस्यतामाथि छानविन भइरहेको छ । कांग्रेसमा प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यप्रति सबैको चासो छ ।
संस्थापनइतर समूहले क्रियाशील सदस्यतामाथि परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिँदै आएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका अनुमोदन भइसकेको छ ।