माधव नेपाललाई अर्को अध्यक्ष बनाउन पनि तयार हुनुपर्ने प्रस्ताव ओली मौन

१३ असार, काठमाडौं । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आज आइतबार बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

माधव नेपालसहित पार्टी एकता गर्नुपर्छ भनेरै थप निर्णय गरिएन, स्रोतले भन्यो । बैठकमा नेताहरुले एकता जोगाउनु अनिवार्य रहेकाले हदसम्मको लचकता अपनाउनुपर्ने तर्क गरेका थिए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त माधव नेपाललाई अर्को अध्यक्ष बनाउँदा एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने सुझाव दिएका
थिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भएको गरिएका निर्णय समेत सम्झाएका थिए । ‘प्रचण्डलाई तपाईंले अध्यक्ष बनाएको होइन, वामदेव गौतमलाई विधानमै नभएको उपाध्यक्ष बनाएको होइन ? अहिले एमालेको एकता आवश्यक छ । माधव नेपाललाई अध्यक्ष बनाउँदा पार्टी ठीक ठाउँमा आउँछ भने त्यहाँसम्म पुग्नुपर्छ ।’

गुरुङले माधव नेपाललाई अर्को अध्यक्ष बनाउन पनि तयार हुनुपर्ने प्रस्ताव गर्दा अन्य नेताहरुले भने कुनै प्रतिक्रिया जनाएनन् । तर एकता जोगाउनुपर्छ भन्नेमा नेताहरु सहमत थिए । ‘कसैले पनि पृथ्वीसुब्बा गुरुङले राखेको प्रस्तावमा कुरा राखेनन् । तर विरोध पनि देखिएन,’ एक नेताले भने । अध्यक्ष ओलीले पनि कुनै प्रतिक्रिया जनाएनन् ।

गुरुङले पार्टी एकता नहुने भएकाले आवश्यक परे माधव नेपाललाई प्रधानमन्त्री वा अध्यक्ष बनाउनुपर्ने बताएका थिए ।

आइतबारको बैठकमा पनि उनले मुलुकका निम्ति पनि एमालेको एकता आवश्यक रहेको बताएका छन् ।

बैठकले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । एक नेताका अनुसार पार्टी एकता प्रक्रियालाई प्रभावित नबनाउने गरी बैठकले निर्णय गर्ने तयारी छ ।