Breaking News

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद ११९९ सदस्यीय रहने पूर्वमाओवादी बादल पक्षद्धारा ५६० जनाको नाम थप्न माग

आउदो बुधबार असार १६ गते बस्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने भएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ ।

हिजो शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको हो ।

अब असार १६ गते बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले परिषदका सबै नामहरु टुंगो लगाउने बताईएको छ । ‘पूर्वमाओवादीले परिषदमा राख्नका लागि ५६० जनाको नाम पठाउनुभएको छ, १६ गते आयोजक समितिको बैठकबाट सबै नामहरुको टुंगो लाग्छ ।

राष्ट्रिय प्रतिनिधि परिषद केन्द्रीय समितिको मातहतमा रहने संरचना हो । यो परिषदका सदस्यहरु काँग्रेसका महासमिति सदस्यजस्तै हुने ती नेताले बताए ।

गत पुस ५ मा संसद विघटन गरेपछि ओलीले ११९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका थिए । तर, दोस्रोपटक संसद विघटन गर्ने बेलासम्म आइपुग्दा २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइयो र ११९९ मध्येका बाँकीलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा परिवर्तन गरियो ।

परिषदमा केन्द्रीय सदस्यहरुसमेत पदेन सदस्य हुने भएकाले हाल एमालेको राष्ट्रिय प्रतिनिधि परिषद ११९९ सदस्यीय नै छ । यसमा ५६० जनाको नाम थप्न पूर्वमाओवादीले माग गरेको छ ।

आइतबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटीको बैठकमा राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीका नेताहरुको नाम थप्नेबारे छलफल भएको स्रोतले बतायो । अब असार १६ गते बस्ने आयोजक समितिको बैठकले परिषदमा ती नामहरु थप गर्ने एमाले का एक नेताले बताए ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीको नेतृत्वमा भएका एकलौटी निर्णयहरु खारेज हुनुपर्ने माधव नेपाल पक्षले माग गरिरहेकै बेला ओली पक्षले महाधिवेशन आयोजक समितिको बैठक राखेर विधानमा व्यवस्था गरिएअनुरुप राष्ट्रिय प्रतिनिधि परिषदमा पूर्वमाओवादीलाई थप गर्न लागेको हो ।