उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । अपरान्ह बस्ने बैठकले निषेधाज्ञाको स्वरूपबारे निर्णय गर्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

‘अपरान्हतिर संयुक्त बैठक बस्दैछ । त्यही बैठकले निर्णय गर्छ’, प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ ।

स्रोतका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको छ ।

गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते राति १२ बजे सकिँदै छ । पछिल्लो निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।

अहिले काठमाडौ उपत्यकामा मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सी लगायतमा जोर–बिजोर लागु गरेर चल्न दिइएको छ तर सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेस लगायतमा प्रतिबन्ध कायमै छ ।

यसैबीच राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेको छ ।