कर्णाली प्रदेशका एमाले माधव पक्षीय तीन जना सांसदलाई फेरी निलम्बन

कर्णाली प्रदेशका एमाले माधव पक्षीय तीन जना सांसदलाई निलम्बन गरिएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका तीनै जना प्रदेश सांसद फेरि निलम्बनमा परेका छन्। माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार प्रदेश सांसदमध्ये तीन जना फेरि निलम्बनमा परेका हुन् ।

प्रदेश सभा सचिवालयले हिजो एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकको निर्णय गरे अनुसार भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई निललम्वन गरिएको जनाएको छ।

विज्ञप्तिमा नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको जनाईएको छ ।

यसअघि पनि तीन मन्त्री सहित पूर्व मन्त्री प्रकाश ज्वालालाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनर्बहाली गरिदिएको थियो ।

सरकारका तीन जना एमाले मन्त्री फिर्ता नआएको भन्दै बजेटमाथिको छलफल गर्नुपर्ने बेला एमालेले प्रदेशसभाका बैठक अबरुद्ध गर्दे आएको छ।