वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर छलफल

९ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन को पूर्वसन्ध्यामा कांग्रेसका नेताहरुमा आफू निकटका नेता तथा कार्यकर्ता संग छलफल र भेटघाट तिब्र पार्ने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाले तयारी तीव्र पारेपछि नेता पौडेलले पनि आफूनिकट नेताहरुको बैठक बोलाएका हुन् ।

दिउँसो दुई बजे बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल गर्न नेताहरुलाई बोलाइएको बुझिएको छ ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुमोदन गरिसकेको छ । सभापति देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरुसँग महाधिवेशनका बारेमा छलफल गरिसकेका छन् । देउवाले आफू सभापतिमा दोहोरिने भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वको दौड सुरु गरिसकेका छन् । उनले सभापति पदका आकांक्षी महामन्त्री डा। शशांक कोइराला र पूर्वप्रधानमन्त्री प्रकाशमान सिंहसँग आफ्नो उम्मेदवारीका विषयमा छलफल गरेका छन् भने संस्थापनइतरकै केन्द्रीय सदस्यसँग पनि छलफल गरिसकेका छन् ।