प्रचण्डद्धारा देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने जिकिर

माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने जिकिर गरेका छन् । अध्यक्ष प्रचण्डले उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफु लडिरहने बताए ।

देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै उनले अहिले राजनितिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनितिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशिल रहेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरीपनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडि बढाउने बताए ।

आफूले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताए । प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गीय हरिप्रसाद पण्डितले कम्युनिस्ट आन्दोलनलाई ठुलो योगदान दिएको भन्दै पौडेल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समबेदना व्यक्त गरेका थिए । पौडेलको ९० बर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

सोमबार सा‘झ चितवन आएका अध्यक्ष प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केही दिन अघिको अविरल बर्षाले निम्त्याएको बाढीले डुबानमा परेको वडा नं. २६ को सिसई लगायतका क्षेत्रको अनुगमन गर्ने र १० बजे नदी नियन्त्रण सम्बन्धी सरोकारवाला कार्यालय प्रमुखहरुसँग जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल गरि आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।