Breaking News

लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने भएकाले बरु एक्लै हिंड्छु

Kamal Thapa
@KTnepal
निकै घत लाग्यो। लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँडदा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो।अब मसंग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन।बरु एक्लै हिड्छु,नकारात्मक सोच भएकाहरुसंग टाढै बस्छु, 

५ असार, काठमाण्डो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् । राप्रपाभित्र खटपट चलिरहेको बेला थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिंड्ने बताएका हुन् ।

थापाले आज बिहान सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।

​प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने थापाको प्रयासमा अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अवरोध खडा गरेका थिए ।

केही दिनअघि थापाले उनीहरुमाथि अल्छी घोडाको संज्ञा दिएका थिए । उनीहरुका कारण पार्टीले गति लिन नसकेको थापाको भनाइ थियो ।

राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति गठनमा पनि राप्रपाभित्र विवाद छ ।

पछिल्लो थापाको कार्यशैलीप्रति विमति जनाउँदै आएका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणालाई २५ सदस्यीय केन्द्रीय विशेष समितिमा समेटिएको छैन ।

पार्टीका उपाध्यक्ष र महामन्त्री समेत भइसकेका राणाले थापाको साथ छोडेपछि विशेष समितिमा नराखिएको बुझिएको छ ।

उनी आफै आगामी महाधिवेशनमा पार्टीको लागि नेतृत्व अगाडि सर्ने तयारीमा रहेका छन् ।

राप्रपा अध्यक्ष, कमल थापा