कांग्रेस सभापति देउवाद्धारा फेरि पनि सभापतिमा लड्ने संकेत

५ असार, काठमाडौं । सभापति देउवाले आज बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् ।

‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए । देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए । सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेका छन् ।