युरोकप फुटबलमा उपाधिको दाबेदार इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरीमा रोकियो

१६ औं संस्करणको युरोकप फुटबलमा उपाधिको दाबेदार इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ। वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र स्कटल्याण्ड गोलरहित बराबरी खेलेका हुन्।

खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

पहिलो हाफको १२ औं मिनेटमा  इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।

यस बराबरीसँगै चेक रिपब्लिक नै समूहको शीर्ष स्थानमा कायम रहयो । चेक र इंग्ल्यान्डको समान ४-४ अंक छ भने क्रोएसिया र स्कटल्यान्ड १-१ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।

पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो।

स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।

पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।

त्यसअघि समूह डी कै खेलमा क्रोएसिया र चेक रिपब्लिकले पनि बराबरी खेलेका थिए । ग्लास्गोस्थित हाम्पडेन पार्कमा चेकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो ।

समूहको अन्तिम खेलमा क्रोएसिया र स्कटल्यान्ड तथा इंग्ल्यान्ड र चेक रिपब्लिक खेल्नेछन् ।