गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नियुक्त भएको ६ दिनमै प्रदेशसभाबाट विश्वासको मत प्राप्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको
हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतविभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको घोषणा गरे ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनी गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
त्यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त भएका थिए ।