विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने

३ असार, काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ ।

विश्व बैंकको बोर्ड बैठकबाट उक्त प्रस्ताव स्वीकृत भएको विश्व बैंकको नेपालस्थित कार्यालयले जनाएको छ । ऋण सहायताका रुपमा प्राप्त हुने १७ अर्ब ७८ करोड नेपालमा कोभिड महामारीको पुनरुत्थान, जोखिमपूर्ण वर्गको सुरक्षा तथा दिगो विकासको प्रयोजनमा खर्च हुनेछ । यो सहायताका माध्यमबाट नेपालको सामाजिक तथा आर्थिक पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा विश्व बैंकले गरेको छ । राजस्व तथा भन्सार प्रशासनसहित नेपालको प्रशासनिक क्षमता अभिवृद्धि र खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वास विश्व बैंकको छ ।