मनाङमा बाढी : बस्ती डुब्यो, गाउँ सम्पर्कविच्छेद

२ असार, पोखरा । मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेका छन् ।

मनाङ जिल्लालाई पनि ठूलो क्षति पुर्‍याएको छ । मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा ६ भन्दा बढी घर मंगलबार नै बगाइसकेको छ भने उक्त बजारका बासिन्दाहरु विस्थापित हुनु परेको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले मनाङका विभिन्न गाउँपालिका गरेर ६० घरभन्दा बढी डुबानमा र क्षतिग्रस्त हुन पुगेको जानकारी दिए । ‘मनाङभरि कति घर क्षतिग्रस्त भएका छन् पूरा तथ्यांक आउनै बाँकी
छ । तर, अहिलेसम्मको जानकारीअनुसार धारापानीको इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालय नै क्षति पुर्‍याएको छ,’ उनले भने।

सीडीओ लामिछानेले ताल गाउँमा ३० घर, चामेमा ४८, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको जानकारी दिए । लगातारको बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको छ ।

अहिलेसम्म मानवीय क्षति नभए पनि मनाङमा ठूलो भौतिक क्षति पुगेको सीडीओ लामिछाने बताउँछन् । निरन्तर भारी वर्षा भइरहेकै कारण काठमाडौंबाट उद्दारका लागि आउने भनिएको हेलिकप्टर पनि आउन नसकेको उनले जानकारी दिए ।

‘काठमाडौंबाट हेलिकप्टर पठाउँछौं भन्नु भएको थियो । त्यो आयो भने केही सहज हुने अपेक्षा राखेका छौं,’ उनले भने, ‘तर, पानी रोकिने सुरसार छैन । ठूलो पानी परेकै कारण हेली आउन सकेको छैन । हामी त्यसैको प्रतीक्षामा छौं ।’

मनाङ चामेबजारका करिब ३ सय जना भन्दा बढी बस्तीमा बाढी छिरेपछि जिल्ला कारागारको भवनमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले जानकारी दिए । मनाङकै मर्स्याङ्दीमा पहिरो खसेर नदी थुनिँदा चामे र ताल बजार डुबानमा परेको थियो । तर, अहिले थनिएको नदी खुलिसकेको उनले जानकारी दिए ।

‘लगातार पानी परेर खोलाहरुमा बाढी आएकाले तल्लो तटीय क्षेत्र बढी जोखिममा छन् । मनाङ पूरै अस्तव्यस्त छ,’ उनले भने । सीडीओ लामिछानेले बुधबारमात्रै उद्दारका लागि ताल गाउँ जान लागेको जानकारी दिए ।

लगातारको वर्षातबाट आएको बाढीले चामे गाउँपालिका-१ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामै रहेको ३२ किलोवाटको लघुजलविद्युत पनि बाढीले बगाएको थियो ।

अनलाइनखबरबाट