मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो ।

निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने उनले बताए ।

यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिए । उनका अनुसार गए रातिदेखि नै सडक अवरुद्ध भए पनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन ।

वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ । अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए । सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन् ।

यसैगरी दक्षिण पर्वतको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन ।