चीन विश्वव्यापी सुरक्षा चुनौती भएको घोषणा

एजेन्सी

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का नेताहरूले चीन विश्वव्यापी सुरक्षा चुनौती भएको घोषणा गरेका छन्।

सोमबार बेल्जियमको बर्सेल्समा भएको नाटो शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा चीनका गतिविधिलाई विश्वव्यापी सुरक्षा चुनौतीका रूपमा उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा उत्तर अमेरिकी र युरोपियन मुलुकहरू सदस्य रहेको नाटोले एक स्वरमा चीनले विश्व प्रणालीलाई निरन्तर प्रहार गरिरहेको बताएको हो।

चीनको लक्ष्य र उसको आक्रामक व्यवहार कानुनमा आधारित अन्तर्राष्ट्रिय प्रणाली र गठबन्धन सुरक्षाका लागि चुनौती हो,’ वक्तव्यमा भनिएको छ।

राष्ट्रपति बाइडेनले चीनमा मानव अधिकार उल्लंघन, उसको व्यापार अभ्यास र सेनाको आक्रामक व्यवहारविरूद्ध आफ्ना मित्र राष्ट्रहरूको एकै स्वर बनाउन पहल बढाएका छन्।

नाटो सदस्य रहेका तीस मुलुकले चीनलाई आफ्नो प्रतिष्पर्धी त भनेका छैनन् तर उनीहरूले चीनको अतिक्रमणकारी नीति, गोप्य रूपमा गरिएको सैनिकको आधुनिकीकरण र गलत सूचनाको प्रवाहलाई चुनौतीका रूपमा लिएका छन्।

नाटो नेताहरूले बेइजिङलाई यसअघि गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूको पालना गर्न र अन्तर्राष्ट्रिय प्रणालीमा जवाफदेही तरिकाले व्यवहार गर्न भनेका छन्।

युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाइडेनले यसअघि बेलायतमा भएको जी ७ मुलुकको शिखर सम्मेलनका क्रममा पनि चीनविरूद्ध अरू मुलुकलाई एक मत बनाएका थिए।

चीनको बिआरआईलाई टक्कर दिन जी ७ मुलुकले बिथ्रिडब्लु परियोजना ल्याएका छन्। जुन ह्वाइटहाउनसले अघि सारेको हो।

जी ७ को संयुक्त वक्तव्यमा पनि चीनको आलोचना गरिएको छ। विशेष गरी पश्चिमी प्रान्त सिन्जियाङमा बेइजिङले अल्पसंख्यक उइगुर मुस्लिम समुदायको मानव अधिकार उल्लंघन गरेको वक्तव्यमा उल्लेख छ।

जी ७को वक्तव्यप्रति लन्डनस्थित चिनियाँ दूतावासले आपत्ति जनाइसकेको छ। केही मुलुकहरूको समूहले विश्व व्यवस्थालाई निर्धारण गर्न नसक्ने चीनको भनाइ छ।