यूरो कप फुटबल हेरेर होहल्ला गरी झगडा गर्ने होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना

३१ जेठ काठमाडौं । यूरो कप फुटबलको तेस्रो दिनको खेल सुरु भएको को दिन हिजो राती त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेस होटलमा युरोकप फुटवल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ ।

हिजो राती जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

युनाइटेड बिजनेस होटलका संचालक भोजपुर घर भएका अश्विन श्रेष्ठ सहितलाई प्रहरीले पक्रेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

होटल संचालकलाई ४ लाख र होटलमा झगडा गर्ने ८ जनालाई जनही १५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जरिवाना तिरेर रिहा हुनेमा क्रोएसियाका खेलाडी विलिम पोसिन्कोविक, अजरबैजानका नुर्लान जाहिद ओग्लु, धादिङ घर भएकी एलिसा मगर, सिन्धुपाल्चोककी सुनि तामाङ, बुढानिलकण्ठका क्षितिज खड्का, सिन्धुपाल्चोकका नविन लामा र दोलखा घर भएका रोहित तामाङ सहित ८ जना छन् ।