घरायसी विवादमा श्रीमानद्धारा श्रीमतीमाथि एसिड प्रहार

३० जेठ, रौतहट । सरकारले एसिड प्रहार गर्नेलाई कानुनी कठघरामा राख्ने कडा कानून ल्याए पनि एसिड प्रहारका घटना झन बढ्दो क्रममा छन् । यसै क्रममा घरभित्रको सानो झगडामा श्रीमान्ले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि आफ्नै श्रीमान दीपकले एसिड प्रहार गरेका हुन् ।

दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमान घरबाट बाहिर निस्किएका थिए । बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा आफूले खोस्ने क्रममा हात र पेटमा परेको दीपिकाको भनाइ छ ।

चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

४२ वर्षीय दीपकलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान पछि कानून बमोजिमको कारबाही हुने डीएसपी लामिछानेले बताए ।