अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच यही साता भेटघाट हुँदै

एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच यही साता भेटघाट हुँदैछ। जुन १६ मा स्वीट्जरल्यान्डको जेनेभामा भेट्न अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिन सहमत भएका छन्। तिक्ततापूर्ण सम्बन्ध भएका यी दुई शक्ति राष्ट्रका प्रमुखहरूबीच  बाइडेन अमेरिकी राष्ट्रपति भएपछि पहिलो पटक भेट हुन लागेको हो।

एक दिनको भेटका क्रममा आपसी सम्बन्धमा स्थिरता ल्याउने र भरपर्दो बनाउने विषयमा छलफल हुने आशा गरिएको छ।

सन् १९८५ मा सोभियत नेता मिखाइल गोर्वाचेभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबीचको भेट पनि जेनेभामा नै भएको थियो।

सोभियत युनियन ढलेपछिका ३० वर्षमा अमेरिका र रूसबीचको सम्बन्ध निकै तिक्ततापूर्ण बिन्दुमा पुगेका बेला बाइडेन र पुटिनबीच भेट हुन लागेको छ। यी दुई नेताहरूबीच व्यक्तिगत रूपमा पनि सम्बन्ध चिसो छ। केही समयअघि बाइडेनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पुटिनलाई ‘हत्यारा’ भनेका थिए। जवाफमा पुटिनले पनि रूखो प्रतिक्रिया दिँदै नयाँ राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका थिए।

पश्चिमाप्रति निकै आक्रामक भाषा प्रयोग गर्ने रूस बाइडेन-पुटिन वार्तामा भने आशावादी देखिएको छ। पुटिनलाई यस्तो उच्चस्तरीय भेटले विश्व मञ्चमा रूसले सम्मान बढाउन सघाउँछ भन्ने लाग्छ। बाइडेनसँगको भेटका क्रममा उनले रूसभित्र र पूर्वी युरोपमा आफ्नो हितलाई अमेरिकाले सम्मान गर्नुपर्ने कुरा राख्ने अनुमान गरिएको छ।  रूसले पहिलादेखि नै वासिङ्टनले पुटिनको शासन र पूर्वी युरोपमा उसको प्रभावलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै आएको छ।

ह्वाइटहाउसका अधिकारीहरूले बाइडेन-पुटिन भेटवार्ताले कुनै ब्रेकथ्रु हुने अपेक्षा गरेका छैनन्। तर पुटिन र बाइडेनले जलवायु परिवर्तन, कोभिड-१९ महामारीविरूद्धको लडाइँमा सहकार्य गर्ने विषयमा कुरा गर्न सक्ने बताएका छन्।

पुटिनसँगको भेटघाटपछि बाइडेनले उनीसँग संयुक्त पत्रकार सम्मेलन भने गर्ने छैनन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार भेटपछि बाइडेनले एक्लै पत्रकार सम्मेलन गर्ने तय भएको छ। भेटघाटमा भएका कुरालाई पारदर्शी रूपले सम्प्रेषण गर्न उनले एक्लै पत्रकार सम्मेलन गर्न लागेको ह्वाइटहाउसले जनाएको छ।

सन् २०१८ मा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग फिनल्यान्डको हेल्सिन्कीमा संयुक्त पत्रकार सम्मेलन गरेका थिए।

राष्ट्रपति बाइडेन अहिले जी ७ मुलुको शिखर सम्मेलनमा सहभागी हुन बेलायतमा छन्।