महोत्तरीमा घर देउताको विषयमा दाजुभाइबीच विवादले झगडा हुँदा भाइको मृत्यु

महोत्तरीमा घर देउतालाई लिएर दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी गाउँपालिकास्थित भ्रमरपुरा गाउँमा दाजुभाइबीच झगडा हुँदा दाइको कुटपिटबाट गम्भीर घाइते भएका भाइ लक्ष्मणको काठमाण्डौँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अंशवण्डा भएको लामो समयपछि दुई भाइबीच घर देउतालाई लिएर कुटाकुट हुने गरेको थियो । तर, शुक्रबार ५० वर्षिय दाई रामचन्द्र साह र उनको परिवारले घरमा एक्लै रहेका ४५ वर्षीय भाइ लक्ष्मण साहलाई गालीगलौज गर्दै कुटपिट गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते लक्ष्मणको उपचार काठमाडौँस्थित अस्पतालमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।

लक्ष्मणको मृत्यु भएपछि दाई रामचन्द्रसहित उनका परिवारसमेत फरार छन् भने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ समेत गरेको छ ।