कोरोना संक्रमणबाट बाँकेमा थप चारजनाको मृत्यु

२८ जेठ, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एक÷एकजना गरी चारजनाका मृत्यु भएको हो ।

दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा हिजो साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजो राति ९ बजे मृत्यु भएको हो । ४२ वर्षीया महिलामा जेठ ११ गते र ७७ वर्षीय पुरुषमा जेठ १८ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका–३ का ८० वर्षीय पुरुषको हिजो राति साढे १० बजे र दैलेखको भैरवी गाउँपालिका–७ का ६९ वर्षीय पुरुषको आज बिहान १०ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । ८० वर्षीय पुरुषमा जेठ १८ गते र ६९ वर्षीय पुरुषमा जेठ २४ गते संक्रमण पुष्टि भएको हो ।