संविधान अनुसार विघटन नभएकाले संसद पुनर्स्थापना हुन्छ

माओवादी अध्यक्ष, प्रचण्ड

२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्ने क्रममा प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनर्स्थापना हुने बताए । ‘अदालतले अन्ततः हेर्ने संविधान
हो । संविधान अनुसार संसद विघटन भएको छैन,’ प्रचण्डले भने ।

उनले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनस्र्थापित भएको स्मरण गर्दै भने, ‘त्यतिबेला पनि मैले हामी जिउँदै छौं भनेका थियौं, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ ।’

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गर्दा नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाएको उल्लेख गर्दै प्रचण्डले अहिले भने कांग्रेस दोधारमा नरहेको बताए ।

‘पहिलोपटक चाहिं नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थियो, अहिले त कांग्रेस यो प्रतिगमन नै हो भन्नेमा छ । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै हुनुहुन्छ, जनमोर्चा पनि साथमा छ,’ प्रचण्डले भने ।

उनले संविधान निर्माणका बेला संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजान नेता कार्यकर्तालाई आग्रह गरे ।