भारतमा पछिल्लो २४ घण्टामा ८६ हजारभन्दा बढी कोरोना संक्रमित, २ हजार १२३ जनाको मृत्यु

२५ जेठ, काठमाडौं । भारतमा दुई महिनाभन्दा लामो समयपछि कोरोना भाइरस (कोभिड–१९)का दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । यो संख्या पछिल्लो ६६ दिनयताकै सबैभन्दा कम हो । कोरोना संक्रमणबाट २ हजार १२३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको तमिलनाडु राज्यमा १९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या ११ हजारभन्दा बढी छ भने महाराष्ट्रमा पनि १० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । केरलामा पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
भारतमा हालसम्म २३ करोड ६१ लाख डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।