उत्कृष्ट बन्दैछ इन्टरनेट ब्राउजर : एप्पल, गुगल र माइक्रोसफ्टबीच सहकार्य

हार्डवेयर तथा सफ्टवेयरको बजारमा गुगल, माइक्रोसफ्ट तथा एप्पल वास्तवमा सबैभन्दा ठूला प्रतिस्पर्धी हुन् । तर यिनै प्रतिस्पर्धी कम्पनीहरु प्रइोगकर्ताको इन्टरनट प्रयोगको अनुभवलाई उत्कृष्ट बनाउनका लागि सहकार्यमा जुट्दैछन् ।

इन्टरनेट ब्राउजिङमा सुधार ल्याउने उद्देश्यका साथ एप्पल, गुगल तथा माइक्रोसफ्टलगायतका आफ्नै ब्राउजर भएका कम्पनीहरुले सहकार्य गर्ने भएका हुन् ।

एक रिपोर्टअनुसार गुगल क्रोम, एप्पल सफारी, माइक्रोसफ्ट एज र मोजिला फायरफक्समा कार्यरत टिमहरुबीच सहकार्य हुनेछ र उनीहरुले ती सबै ब्राउजरमा उपलब्ध एक्सटेन्सनहरुमा सुधारका लागि काम गर्नेछन् ।

एक्सटेन्सन भनेको ब्राउजरमा हुने यस्तो अतिरिक्त फिचर हो जसलाई डाउनलोड गरेपश्चात् इन्टरनेट ब्राउजिंग अझै सुरक्षित तथा सहज बन्दछ । ब्राउजरको क्षेत्रमा सहकार्यका लागि यी कम्पनीहरुले विश्वव्यापी संयुक्त संगठन अर्थात् वल्र्डवाइड वेब कन्सोर्टियम बनाउने घोषणा गरेका छन् ।

पछिल्ला वर्षहरुमा विविध ब्राउजरहरुले अन्य ब्राउजरहरुमा पनि मिल्ने खालका एक्सटेन्सनका मोडेलहरु अङ्गीकार गरिरहेको परिप्रेक्ष्यमा साझा ब्राउजर एक्सटेन्सन प्लाटर्फम तयार गर्नका लागि ब्राउजर निर्माता र अन्य इच्छुक पक्षबीच सहकार्यको खोजी गर्न आफुहरु उत्साहित रहेको Web Extensions Community Group ले जनाएको छ ।

एप्पल, गुगल, माइक्रोसफ्ट र मोजिल्ला बीचको सहकार्यको मूख्य कारणचाहिँ डेभलपर्सलाई नयाँ नयाँ एक्सटेन्सनको सिर्जना गर्न सहज होस् भन्नका लागि रहेको बताइएको छ ।

चारवटै ब्राउजरमा कार्यरत कर्मचारीहरुको टोलीले ब्राउजरको कार्यक्षमतामा वृद्धि गर्न, अझै सुरक्षित बनाउन तथा दुरुपयोग रोक्नका लागि आवश्यक संरचनाको रुपरेखा तयार गर्नेछ । यद्यपि मूख्य ब्राउजरहरुको यो सहकार्यको नतिजा प्रयोगकर्ताको ग्याजेटसम्म कहिले पुग्छ भन्नेचाहिँ खुलेको छैन ।