प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ पक्षका चारमन्त्रीलाई बर्खास्त

२३ जेठ, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारमन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् ।

उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौथिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका हुन् ।
बर्खास्त भएका सबै महन्थ ठाकुर पक्षका हुन् ।

पार्टीभित्र चर्को विवादका बाबजुद ठाकुर पक्ष शुक्रबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्र सरकारमा सहभागी भएको थियो । ८ मन्त्री र दुई राज्यमन्त्री लिएका प्रधानमन्त्री ओलीले जसपाबाट सरकारमा नेतृत्व गरेका राजेन्द्र महतोलाई उप्रधानमन्त्री बनाएका थिए ।

महन्थ पक्ष केन्द्र सरकारमा सहभागी भए लगतै जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका थिए । यादवकै सक्रियतामा आइतबार संसदीय दलको बैठकले मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता चयन गरेको छ । उनलाई जसपाका ५५ मध्ये ३६ जना सांसदको साथ छ ।

उनको पक्षमा हस्ताक्षर गर्नेमा पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका ६ जना छन् । प्रदेश २ मा तत्कालीन संघीय समाजवादी पार्टीको २९, राजपाको २५ सिट थियो । स्वतन्त्रबाट निर्वाचित शेख अबुल कलाम आजाद पार्टी प्रवेश गरेपछि ५५ पुग्यो ।

तर आइतबार दल नेता चयन गर्दा महन्थ ठाकुर पक्षका सांसदहरुले सुइको समेत पाएनन् ।