राजनीतिमा टाइम टाइमकी बात,मुर्गा मारे लात

जनआस्थाबाट

टिकापुर घटनाजस्ता जघन्य अपराधका कुनै पनि मुध्दाहरु मेरो कार्यकालमा फिर्ता लिने निर्णय नभएको प्रष्ट पार्दछु !’ – २८ सेप्टेम्बर २०१६ (०७३ साल असोज १२ गते) मा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै सार्वजनिक गरेको धारणा हो यो । टिकापुर घटनामा दोषी ठहर भै थुनामा रहेका जसपा सांसद रेशम चौधरीको मुध्दाका सन्दर्भमा पाँच वर्षअघि प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको थियो ।

त्यतिबेला काङ्ग्रेस,माओवादी लगायतका अन्य राजनीतिक दल चौधरीको मुध्दा फिर्ता लिन तयार हुँदा ओली सहमत हुनुभएको थिएन । एमाले अध्यक्षका रुपमा ओलीको अडानकै कारण मुद्दा फिर्ताको अवस्था नबनेको जसपा नेताहरुको आरोप थियो । त्यतिबेला एमालेले संस्थागत रुपमै चौधरीको मुद्दा फिर्ताको विपक्षमा आफूलाई उभ्याएको हो ।५ जेठ २०७४ मा सचिवका हैसियतले अहिलेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जारी गरेको एउटा प्रेस वक्तव्यमा पनि रेशम चौधरीलाई छाड्ने तत्कालीन सरकारको निर्णयप्रति एमालेको आपत्ति रहेको बताइएको थियो । चौधरीलाई थुनामुक्त गरे न्यायको पर्खाइमा बसेका पीडितहरुको आलोघाउमा नुनचुक दलेजस्तै हुने ज्ञवालीको वक्तव्यमा छ ।तर,अहिले समय फेरिएको छ, र ओली नै मुध्दा फिर्ताको तीब्र तयारीमा हुनुहुन्छ । जसपाको महन्थ,ठाकुर खेमासँग भएको सहमतिअनुसार थुनामा रहेका चौधरीलाई कानुनी प्रक्रिया पुर्याएर रिहाइ गर्न ओली लागिसक्नु भएको छ । त्यसको बदलामा ठाकुर खेमाले ढल्न लागेको सरकारलाई काँध हालिदिने छ।

 

चौधरीको रिहाइको तयारी चलिरहेकै बेला यसअघि नै सरकार र थरुहट संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो

। उक्त सहमतिअनुसार सरकारले चौधरीसहित घटनाका अन्य दोषीमाथि लागेका मुध्दा फिर्ता लिने र रिहाइका लागि पहल गर्ने भनिएको छ । त्यस्तै,थरुहट आन्दोलनका क्रममा शहीद भएका परिवारलाई राहत दिने,शहीद परिवारको उचित व्यवस्थापन गर्ने , राज्यका हरेक तह र तप्कामा थारुहरुको आरक्षणको व्यवस्था तथा थारु समुदायको बारेमा संविधानअनुरुपको व्याख्या र व्यवस्था कायम गर्नेलगायतका कुरा सम्बोधन गर्न सरकारले प्रतिवद्धता जनाएको छ ।

एमाले र प्रधानमन्त्री ओलीको पुरानो अभिव्यक्ति र अहिलेको कार्यशैलीमाथि टिप्पणी गर्दै धेरैले लाशमाथि राजनीति गरेर सत्तास्वार्थ पूरा गर्ने बाटोमा हिँडेको भनी आलोचना गरेका छन् । ओलीले न्यूनतम राजनैतिक नैतिकताको सीमा कुल्चेर आफ्नो पुरानो अडान विपरित सत्ताका लागि अनैतिक सौदावाजी गरेको भन्दै सामाजिक संजालमा बिरोध भैरहेको छ ।

के हो टिकापुर घटना ?

थरुहट आन्दोलन चर्किंदै जाँदा २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा ८ जनाको ज्यान गएको थियो । थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँचजना तथा सशस्त्रका दुई र एक डेढ बर्षको बालकसहित ८ जनाको मृत्यु भएको थियो ।

घटनाको योजनाकार भन्दै उक्त नरसंहारको दोष रेशम चौधरीलाई लागेको थियो । चौधरीविरुद्ध मुद्दा चल्दै गर्दा गत निर्वाचनमा उनी कैलाली-१ बाट निर्वाचित भएका थिए ।

पूर्व राजपा (हाल जसपाको महन्थ खेमा) बाट चुनाव जितेका चौधरीविरुद्ध अदालतले जन्मकैदको सजाय सुनाएपछि हाल उनी डिल्लीबजार कारागारमा छन् । चौधरीले जेलमै रहेका बेला सांसद पद तथा गोपनीयताको सपथसमेत लिएका थिए ।

कैलाली जिल्ला अदालतले चौधरीलाई २०७५ फागुन २२ गते जन्मकैदको फैसला तोकेको थियो । दिपायल उच्च अदालतले २०७७ पुसमा कैलाली जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो । चौधरीको मुध्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

जनआस्थाबाट