कोरोनाबाट संकुचित सेवा विस्तार र संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

२१ जेठ, काठमाडौं । कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि आज सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै छ । छलफलमा २० न्यायाधीश सहभागी हुनेछन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले कोभिडबाट संकुचन भएको सेवा प्रवाह व्यवस्थित गर्ने कुरा मुख्य एजेण्डा भएको बताए ।

सर्वोच्चले हाल कोभिडका कारण सार्वजनिक सरोकारका रिट निवेदन, र थुनावा रहेका निवेदनहरुको सुनुवाइ गरिरहेको छ । निषेधाज्ञा लम्बिँदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफलका लागि पूर्ण बैठक बस्न लागेको प्रवक्ता ढकालको भनाइ छ ।

’फुल कोर्ट’को बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो ।

सुंवैधानिक इजलास गठनपछि विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्त सहमति अनुसार नियमावली संशोधनको प्रक्रिया फूल कोर्टबाट अघि बढ्नेछ ।