२० जेठ, काठमाडौं । बाँकेको विभिन्न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो ७ः३० बजे साँझदेखि आज दिउँसो २ः३० बजेसम्म यी संक्रमितको मृत्यु भएको हो ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १÷१ जना दाङ, दैलेख, सल्यान र रूकुम का छन् ।
भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–२ बर्दियाका ३४ वर्षीय पुरुषको हिजो साँझ ७ः३० बजे र बढैयाताल गाउँपालिका–३ बर्दियाकै ५५ वर्षीय पुरूषको हिजो राति ११ः ४० बजे मृत्यु भएको हो ।
यस्तै बाँसगढी गाउँपालिका– ६ बर्दियाका ६६ वर्षीय पुरूषको आज दिउँसो २ः३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका–६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा हिजो राति १०ः२० बजे मृत्यु भएको छ भने आठबीस नगरपालिका–४ दैलेखकी ३० वर्षीया महिलाको हिजो राति ११ः५५ बजे मृत्यु भएको हो ।
यस्तै कालिमाटी गाउँपालिका–१ सल्यानका ३७ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा आज विहान ८ः३० बजे मृत्यु भएको छ भने बाफिकोट–४ रूकुमका २९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०ः१५ बजे मृत्यु भएको हो ।