एमाले माधव पक्षीय केन्द्रीय कमिटीमा वार्ता टोलीको ब्रिफिङ : हामी पार्टी एकता जोगाउन इमान्दार प्रयत्न गरिरहेका छौं, हेरौं बालुवाटारले कसरी लिन्छ

२० जेठ, काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यको आज बसेको भर्चुअल बैठकमा बोल्ने क्रममा वार्ता टोली सदस्यले आफूहरुले पार्टी एकता जोगाउन इमान्दार प्रयास गरेको बताएका छन् ।

भर्चुअल माध्यमबाट बिहान सुरु भएको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता खनाल, नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताले केन्द्रीय सदस्यहरुलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुसँग अनौपचारिक छलफलमा रहेका नेता सुरेन्द्र पाण्डेले पार्टी एकताका निम्ति इमान्दार पहल भइरहेको बताए ।

‘हामी पार्टी एकता जोगाउन इमान्दार प्रयत्न गरिरहेका छौं । अब हेरौं बालुवाटारले कसरी लिन्छ’, पाण्डेले भने । उनले केन्द्रीय सदस्यहरुलाई नआत्तिन आग्रह गरेका थिए । ‘हाम्रो इमान्दार प्रयत्नलाई कसरी लिइन्छ, केही दिनमै थाहा पाइहाल्नु हुन्छ’, पाण्डेको भनाइ थियो ।

पाण्डेसँग मिल्दो ब्रिफिङ नेता भुसालले पनि गरेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा धारणा राख्दै नेता झलनाथ खनालले एमाले पार्टी एजेण्डामा बाँच्न नसकेकाले अहिलेको संकट आएको बताएका थिए । ‘पार्टी एजेण्डामा बाँच्नुपर्थ्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका लागिविरुद्ध संघर्ष गर्नुपर्छ’, नेता खनालले भने ।

भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार, खनालले संगठन मात्रै ठूलो नभएर केही नहुने भएकाले एजेण्डामा आधारित बनाउनुपर्ने बताए ।

नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टीभित्र भइरहेको विवाद र वार्ताबारे बुझ्न भर्चुअल भेलाको माग राखेका थिए ।