कैलालीमा कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु

२० जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।
मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा हिजो मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले बताए ।

‘उनी मिर्गौला, मधुमेह र मुटुका रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएका थिए,’ डा. कमरले भने, ‘आईसीयूमा राखेर उनको उपचार थालिएको थियो । तर उपचारकै क्रममा हिजो बिहान ७ बजे उनको मृत्यु भएको हो ।’

उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीका अनुसार ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आयो । ‘उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थाल्यो । म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा हिजो कालो ढुसीको संक्रमण पुष्टि भयो’ उनले भने ।

कालो ढुसीको संक्रमण पुष्टि भएसँगै उनलाई एम्फोटेरिसेन बी नामको औषधि दिइएको थियो । तर पनि उनलाई बचाउन नसकिएको डा. श्रीपाइलीले बताए ।
यो रोगको संक्रमण बढीजसो आँखा, फोक्सो, किड्नी तथा छालामा यसको संक्रमण देखिएको छ ।