चितवनमा जेठ २७ गतेसम्म थप निषेधाज्ञा

१९, जेठ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
तेस्रोपटक थपिएको निषेधाज्ञाको समय जेठ २० गते राति सकिने भएपछि प्रशासन कार्यालयले एक साता थप गरेको हो । प्रशासनले यसपटक थप गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो पारिएको छ ।

जिल्लामा अहिले ४ हजार ८४५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ४ हजार ६७९ जना छन् । यो संख्यामा आगामी साता कमी आउने अपेक्षा गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गते रातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थिए । लगत्तै जेठ १३ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको हो ।