१९ जेठ, काठमाडौं । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको आज पुरा २० वर्ष पुगेको छ । तर पनि आजसम्म कोही कसैले दरबार हत्याकाण्डको सत्यतथ्य घटना सार्वजनिक गर्न सकेका छैनन् ।
शुक्रबारको दिन जहिले पनि दरबारमा पारिवारिक जमघटका साथै भोजभतेर समेत गर्ने भएकाले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको जमघट भएको बेला एकाएक गोली प्रहार गरी हत्याकाण्ड गरिएको थियो आजकै दिन नारायणहिटीमा ।
नेपाली सेनाको ९ घेराका साथै उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड कसले के कसरी भयो त्यसको सार्वजनिक गरिएको छैन र अहिले पनि रहस्यकै गर्भमा नै राखिएको छ ।
तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । सो हत्नयाकाण्डको छानविन प्रतिवेदन तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेका थिए । तर सो छानविन प्रतिवेदनमा शंका मानेर आम नेपालीले अहिलेसम्म पनि विश्वास मानिरहेका छैनन् ।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो कालको मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । त्यतिबेला यो प्रस्ताव मन्त्रीपरिषद्सम्म पुगेको भएपनि पछि त्यसै सेलायो । तर अहिले पनि सम्म पनि कुनै सरकारले वा अरु पक्षले त्यसको कुरा उठाउन र हत्याकाण्डको रहस्य पत्ता लगाउन आंट गरेको छैन ।