महन्थ र राजेन्द्रसहितका नेतालाई कारवाही गर्ने तयारी

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई कारवाही गर्ने तयारी अर्को अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् । अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ आएको छैन ।

अध्यक्ष यादवले आज पदाधिकारी बैठकबाट उनीहरुलाई कारवाही गर्ने सम्भावना रहेको जसपाका एकजना कार्यकारिणी सदस्यले बताए । जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको छ । अध्यक्ष यादवले आवश्यकता अनुसार पदाधिकारीहरूसँग छलफल गरेर कारवाहीको प्रकृया बढाउने बताइएको छ ।