शाओमीले घोषणा गर्दै कीर्तिमानी फास्ट चार्जिङ प्रविधि

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सोमबार आफ्नो नयाँ Hypercharge fast charging technology सार्वजनिक गर्दैछ ।

सबैभन्दा तीव्र गतिको वायरलेस चार्जिङ प्रविधिमा समेत किर्तिमान कायम गरेको शाओमीले HyperCharge प्रविधिमार्फत् तारबाट गरिने चार्जिङ  प्रविधिमा पनि नयाँ कीर्तिमान कायम गर्न लागेको हो ।

स्मार्टफोनमा १२० वाटभन्दा धेरै फास्ट चार्जिङ टेक्नोलोजी उपलब्ध गराउने निकै कम स्मार्टफोन कम्पनीमध्ये शाओमी एक हो । शाओमीको सबैभन्दा महँगो एमआई ११ अल्ट्रा स्मार्टफोनमा ६७ वाट तारयुक्त चार्जिङ, ६७ वाट वायरलेस चार्जिङ र १० वाट रिभर्स वायरलेस चार्जिङ गरी कूल १४४ वाट चार्जिङ उपलब्ध छ । त्यसैले आज घोषणा हुने HyperCharge फास्ट चाजिंग टेक्नोलोजीमा २०० वाटको हाराहारीमा फास्ट चार्जिङ उपलब्ध हुने अनुमान गरिएको छ ।

शाओमीले ट्विटरलगायतका सोसल मिडियाहरु मार्फत् आफ्नो हाइपर चार्ज टेक्नोलोजीले नयाँ कीर्तिमान कायम गर्ने उल्लेख गरेको छ । यो प्रविधिले केवल आधा घण्टामै स्मार्टफोन फूल चार्ज हुने बताइएको छ ।

शाओमीको यो प्रविधिले स्मार्टफोन उद्योगमा गहिरो प्रभाव पार्ने देखिन्छ र अन्य कम्पनीहरु पनि आफ्ना स्मार्टफोनमा उत्कृष्ट फास्ट चार्जिङ प्रविधि ल्याउन बाध्य हुनेछन् ।

केही महिना अगाडि सार्वजनिक भएको एक समाचारमा यो वर्षको उत्तरार्धतिर २०० वाट फास्ट चार्जिङ टेक्नोलोजी लञ्च गर्ने उल्लेख थियो । उक्त प्रविधिमा वायरलेस, वायर्ड तथा रिभर्स वायरलेस गरी तिनवटै चार्जिङ विधिलाई सपोर्ट गर्ने बताइएको थियो ।

गत वर्ष नै शाओमीले ८० वाट वायरलेस चार्जिङ प्रविधि घोषणा गरेको थियो, जुन अहिलेसम्म कुनै पनि डिभाइसले सपोर्ट गर्दैन । यद्यपि कम्पनीले ८० वाट वायरलेस चार्जरचाहिँ बिक्री सुरु गरिसकेको छ ।