कोरोना संक्रमित लक्ष्यण नदेखिए पनि संक्रमण बढ्न सक्छ – चिकित्सक

दुबईबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका युवकलाई चैत्र ८ गते धनगढी पुगेलगत्तै स्वास्थ समस्या भयो । ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरस (कोभिड(१९) संक्रमित भएको १४ गते पुष्टि भयो ।
सुदूरपश्चिम प्रदेशमा कोरोना पुष्टि भएका चारजनामध्ये स्वास्थ्यमा समस्या आएर आफैँ अस्पताल पुग्ने उनी एक्ला हुन् । बाँकी तीन जनामा भने कुनै लक्षण नदेखिँदा नै कोरोना संक्रमण भएको पाइयो । कैलाली, चुँहाका २१ वर्षीय र कञ्चनपुर, बेतकोटका ४१ वर्षीय युवकमा त अझ कोरोना पुष्टि भएको पाँच दिनसम्म पनि कुनै लक्षण देखिएको छैन ।
चुँहाका युवक कैलालीको गौरिफन्टा र बेतकोटका युवक कञ्चनपुरको गड्डाचौकी नाकाबाट चैत ११ गते भिडसँगै स्वदेश पसेको थिए । दुबैजना सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा छन् ।
सुदूरपश्चिम प्रदेशमा कोरोना पुष्टि भएका चौथो व्यक्ति धनगढीकी महिला हुन् । उनलाई नेपालमा पहिलो पटक स्थानीय रुपमा संक्रमण भएको हो । दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका संक्रमितका भाउजू हुन्, उनी ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सबैलाई धनगढी रंगशालामा तयार गरिएको क्वारेन्टाइनमा राखिएको थियो । स्वाब परीक्षण गर्दा भाउजूमा संक्रमण देखियो । तर, पोजेटिभ रिर्पाेट आएको पाँचदिनमा उनमा पनि कोराना संक्रमणको लक्षण नदेखिएको उपचारमा खटिएका चिकित्सकहरु बताउँछन् ।
संक्रमित बढ्न सक्ने संकेत
चिकित्सकहरुले संक्रमितमा लक्षण नदेखिनुलाई संक्रमण दर बढ्ने संकेतको रुपमा लिएका छन् । ‘पहिलो संक्रमितमा मात्र केही लक्षण देखिएको छ’, सेती अस्पतालका वरिष्ठ फिजिसियन शेरबहादुर कमर भन्छन्, ‘अरुमा लक्षण नदेखिनुले कोरोना संक्रमण दर बढ्नसक्ने देखाउँछ ।
धनगढीकी महिलाको संक्रमणलाई ‘स्थानीय रुपमा भएको संक्रमण’ भनिएको छ । यसबाट नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा पुगेको मानिएको छ । यस्तो अवस्थामा शंकास्पद बिरामीमा लक्षण नदेखिनुलाई चिकित्सकहरुले खतराको रुपमा औंल्याएका छन् । डा. कमरका अनुसार यस्तो हुँदा संक्रमितलाई पहिचान गर्न गाह्रो हुन्छ । ‘संक्रमितमा नै नदेखिएको लक्षण उनीहरुको सम्पर्कमा आएकाहरुमा देखिएला भन्ने भएन’, उनले भने, ‘लक्षण देखिएन भन्दैमा संक्रमित छैन भन्ने अवस्था रहेन । त्यसैले अब कोरोना परिक्षणको दायरा बढाउनुको विकल्प नरहेको उनले बताए । ‘यो भाइरस एक जनाबाट दुई जनामा, दुई जनाबाट चार जनामा सर्नसक्छ’ डा. कमरले भने, ‘त्यसैले अब धेरैभन्दा धेरैको परीक्षण हुन पर्यो ।
फेरि, पहिलो परीक्षणमा संक्रमित व्यक्तिमा पनि संक्रमण नदेखिन सक्ने उनी बताउँछन् । उनका अनुसार, कुनै व्यक्तिमा कोरोना संक्रमण भएको छ भने पनि पहिलो परिक्षणमा ४०(५० प्रतिशत मात्र पत्ता लाग्नेहुन्छ । ‘५० प्रतिशतमा त कोरोना भएपनि नदेखिन सक्छ’, उनी भन्छन्, ‘दोस्रो परीक्षणमा भाइरस देखिने दर ८० प्रतिशत हुन्छ ।
‘अवस्था भयावह हुनसक्छ’
सेती अस्पतालमा संक्रमितको उपचारमा खटिएका अर्का वरिष्ठ फिजिसियन निराजनदत्त शर्मा लक्षण नदेखिँदा कोरोना भाइरस संक्रमणको अवस्था छोपिन पुगेको बताउँछन् । ‘गाउँ(गाउँमा लक्षण नदेखिएका संक्रमित बढ्न थाल्ने हो भने अवस्था भयावह हुनसक्छ’, उनी भन्छन् ।
हुन पनि, अहिले भारतबाट आएका हजारौं मानिसहरु गाउँगाउँमा पुगेका छन् र परिवारसँग छन् । उनीहरु स्वास्थ्य परीक्षणको पहुँचमा पनि छैनन् । त्यसैले सुदूरपश्चिममा अहिले चारजना मात्र कोरोना संक्रमित छन् भन्न सकिने अवस्था नरहेको डा. शर्मा बताउँछन् । भन्छन्, ‘विदेशबाट आएका र उनीहरुको सम्पर्कमा पुगेका सबैको परीक्षण भएमात्र वास्तविक स्थिति थाहा पाउन सकिएला ।
सेती अस्पतालका प्रवक्तासमेत रहेका डा. जगदीश जोशी पनि संक्रमण पुष्टि भएकामा लक्षण नदेखिनुलाई गम्भीर मान्छन्। विनालक्षणका कोरोना संक्रमित खोज्ने हो भने घर(घरमा भेटिनसक्ने उनको विश्लेषण छ । त्यसैले भारतबाट आएका सबैको खोजी गरेर परीक्षण गर्नुपर्ने भन्दै उनी भन्छन्, ‘लक्षण नदेखिएकाले परीक्षण गरेनौँ भन्ने कुरा अब लागू हुँदैन ।