मैत्रीपूर्ण खेलमा इराकसंग नेपाल ६-२ गोलको अन्तरले पराजित माफी माग्दै हारको जिम्मा प्रक्षिकले लिए

१६ वैशाख, काठमाण्डौ । नेपालको फुटबल टिम इराकसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि गएको भएपनि हिजो राती भएको खेलमा नेपाल इराकसंग पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गरेका छन् । नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने भन्दै उनले माफीसमेत
मागेका छन् ।

खेल सकिएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘सबैसँग माफी माग्छु, राम्रो रिजल्ट भएन । हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस् ।

इराकको बसरास्थित अल फायना स्टेडियममा गएराति भएको खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो । नेपाली फुटबल टिमको प्रशिक्षण सम्हालेपछि अलमुताइरीको यो पहिलो खेल थियो ।

कुवेती प्रशिक्षक अलमुताइरीले राम्रो नतिजाका लागि केही समय धैर्य गर्न आग्रह गरे । उनले भने, ‘हामीले आज २ गोल गरेर खुशी मनायौं तर अब धरै खुशी बनाउँछौं । केही समय पर्खनुस्, हामी राम्रो गर्छौं । हामी विश्वकप छनोटका लागि तयार हुन्छौं ।

राम्रो नतिजाका लागि केही समय चाहिने बताउँदै उनले भने, ‘हामीले आज एक अवसर गुमायौं । त्यो गोल भएको भए राम्रो हुन्थ्यो । केही सिल्ली मिस्टेक गर्दा खेल हारिन्छ, हामीलाई केही समय चाहिन्छ । जब हाम्रो लामो ट्रेनिङ हुन्छ हामी राम्रो रिजल्ट ल्याउँछौं ।