कठमाण्डौ छाड्न चाहनेहरुलाई सरकारले आफै लैजाने, तर कसरी लैजाने भन्ने विषयमा छलफल भइरहेको छ

२७ चैत, काठमाडौं । सरकारले लक डाउनका कारण काठमाडौं उपत्यकामा अड्किएकाहरूलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको छ । आज बिहीबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले दुई दिनका लागि नागरिकलाई बाहिर जान दिने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार घर जान चाहनेहरूलाई सरकारले नै गाडीको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए । समितिको यस्तो निर्णयपछि अहिले गृह मन्त्रालयमा सरोकारवालाहरूको बैठक बसिरहेको छ ।
‘कसरी पठाउने भन्नेबारे हामीले छलफल गरिरहेका छौं, साँझसम्म मोडालिटी तयार गर्छौं,’ गृह प्रवक्ता केदारनाथ शर्माले सेतोपाटीसँग भने । सरकारले स्थानीय तहसँग समन्वय गरेर नागरिकहरूलाई फिर्ता पठाउने तयारी गरिरहेको छ ।
चैत ११ गतेदेखि लक डाउन भएपछि धेरै मानिसहरू काठमाडौंबाट हिँडेरै गन्तव्यमा गइरहेका थिए । सुरूमा एक हप्ताका लागि गरिएको लक डाउनको समय अहिले तीन हप्ता र्पुयाइएको छ ।