भिडियो सन्देशबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको लकडाउन बारे सन्देश

२७ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी गरेका छन् । तनाव र चिन्ता कम गर्न तथा सकारात्मक सोच विकास गर्न सुझाव दिएका छन् ।
भिडियोमा डा. भट्टराईले ‘यो बेला हामी सबैले बडो विचित्रको अनुभव गरिरहेका छौं । सबै आआफ्नो घरभित्र थुनिएका छौं । यस्तो बेलामा मनमा विभिन्न आशंका र तनाव उत्पन्न हुन सक्छ । यस्तो तनावलाई जति पन्छाउन सक्यो त्यति नै हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
महाव्याधी पनि जीवन र जगत यथावत रहने भन्दै उनले सकारात्मक सोच राख्न सबैसँग आग्रह गरेका छन् । कल्पना गर्नुस् त हाम्रो देश कति सुन्दर छ । घरको कौंशी वा बार्दलीमा निस्केर बाहिर हेर्दा कति सुन्दर दृश्यहरु देख्न सक्छौं । घर–परिवारमा रमाउने संस्कृति हाम्रो छ । अहिले हामी एक्लिएका होइनौं । हामीले कोरोना भाइरसलाई अलग्याएका हौं । यसमा हामी स्पष्ट रह्यौं भने तनावमुक्त रहन सक्छौं ।
विदेशबाट आएका युवाहरुले दुई हप्ता एकान्तवासमा बस्न उनले आग्रह गरेका छन् । राज्य र नागरिकहरुबीचको सहकार्यले मात्रै कोरोनालाई परास्त गर्न सकिने डा. भट्टराईको विश्वास छ । उनले कोरोनाविरुद्ध सहकार्यका लागि स्थानीय तहमा सर्वपक्षीय संयन्त्र बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।
डा. भट्टराईले जीवन र स्वतन्त्रतामा एक रोज्न नसकिने पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेला जीवन ठूलो हुन्छ कि वैयक्तिक स्वतन्त्रता भनेर गरेको प्रश्नलाई ईंगित गर्दै ‘यस्तो बेला जीवन र स्वतन्त्रता मध्ये एक रोजौं भन्ने होइन । हामीलाई दुवै चाहिन्छ ।
डा. भट्टराईले कोरोनाको नियन्त्रणमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कामदार लगायतको प्रशंसा पनि गरेका छन् ।