सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या समाधानको कामना

उपराष्ट्रपति, नन्दबहादुर पुन

१५ वैशाख, काठमाण्डौ । १४औ गणतन्त्र दिवसको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना दिंदै पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

उहाँले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरे ।

राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपतिले अपिल गरे ।

गणतन्त्र प्राप्त गर्न भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनान्दोलनका शहीदप्रति श्रद्धासुमन व्यक्त गर्दै उपराष्ट्रपतिले शहीद परिवार, घाइते र बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरे ।

उनले गणतन्त्र प्राप्तिको क्रान्ति र आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई ज्ञापन गरेका छन् ।