प्रतिनिधिसभा विघटन बिरुद्धको रिट माथिको सुनुवाइ सर्वोच्चमा सुरु

१३ जेठ, काठमाडौं । सर्वोच्चमा परेको प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा सुनुवाइ प्रारम्भ भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ शुरु भएको हो । विघटन बिरुद्ध परेका १९ वटा रिटमा बिहीबार सुनुवाइ हुन्छ । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय
(पीआईएल) को अधिकार प्रयोग गरेर दायर गरेका छन् ।

यसअघि प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका थिए । सुनुवाइ शुरु गर्न अघि जबराले सबै रिट निवेदकलाई बाहिर पठाएका थिए । कोरोना भाइरसको कारण राणाले सबैलाई पालो पालो आएर बहस गर्न आग्रह गरेका छन् ।

१२ बजेबाट इजलास बसेको हो । इजलास सुरु भएपछि प्रधानन्यायाधीशले ५ जना बाहेक सबै कानून व्यवसायीहरूलाई बाहिर पठाइदिएका छन् । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले हालेको निवेदन छ । प्रधानन्यायाधीशले निवेदन अध्ययन गर्दैछन् । कानून व्यवसायीहरू बाहिर प्रतीक्षामा छन् ।

रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । प्रधान न्यायाधीशको एकल इजलासले निवेदकहरूका माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे आदेश गर्नेछ ।

संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर शुक्रवार सुनुवाई हुनेगरी सर्वोच्च प्रशासनले पेशी तोकेको छ । विघटन बिरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् । संसद पुनः स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले हस्ताक्षर सहित निवेदन दर्ता गरेका छन् ।