प्रधानमन्त्रीले भन्दैमा राष्ट्रपतिले असंवैधानिक काम गर्नुहुँदैन । त्यसैको विरोधमा सर्वोच्च गएका छौँ । सर्वोच्च संविधान अनुसार फैसला गर्नेछ

सभापति शेरबहादुर देउवा

१३ जेठ, काठमाडौं । नेपाल प्रेस युनियनका ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्दा निर्दलीय अभ्यास नभएको दाबी गरेका छन् । केहीले निर्दलीय अभ्यास भएको भन्नुभयो । उहाँहरुलाई नेपालको संविधान पढ्न भन्न चाहन्छु । संविधानको धारा ७६ को ५ मा कुनै पार्टी भनेको छैन । प्रतिनिधिसभा सदस्य भनेको छ ।

यस्तै उनले आफूले बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गर्दा पनि राष्ट्रपतिले संसद विघटन गरेर गर्न नपर्ने काम गरेको बताए । हामीले बहुमतभन्दा बढी सदस्यको सरकार गठनका लागि दाबी बुझाएका थियौँ । तर राष्ट्रपतिले मध्यराति संसद विघटन गर्नुभयो । नगर्नुपर्ने काम गर्नुभएको छ,’

राष्ट्रपतिबाट असंवैधानिक काम भएकाले आफुहरु सर्वोच्च गएको उनले बताए । प्रधानमन्त्रीले भन्दैमा राष्ट्रपतिले असंवैधानिक काम गर्नुहुँदैन । हामी विरोध गर्दै सर्वोच्च गएका छौँ । सर्वोच्च अदालतले संविधान अनुसार फैसला गर्नेछ ।

लोकतन्त्रमाथि नै खतरा भएकाले काँग्रेस सर्वोच्चमा गएको देउवाले बताए । उनले भने,’कोरोना महामारीका कारण सडकमा जान सकेका छैनौँ । मिडिया जगतले जनमत सिर्जना गर्नुपर्यो ।’ संविधानको रक्षाको पक्षमा उभिन नेपाली पत्रकार जगतलाई देउवाको आह्वान गरे ।

यस्तै संविधानमाथिको हस्तक्षेप स्वतन्त्र न्यायपालिकाले रोक्ने उनको विश्वास छ । देउवाले भने, अदालत स्वतन्त्र न्यायपालिका हो । संविधानको माथिको हस्तक्षेप रोक्ने हाम्रो विश्वास छ । ओली सरकार र विद्या भण्डारीले नहुने काम गर्नुभएको छ ।

कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संविधान रक्षा काँग्रेसको प्रमुख जिम्मेवारी भएको बताए । संविधानको रक्षाका लागि पत्रकार जगत पनि जागरुक हुनुपर्ने उनको भनाइ थियो । कोरोना महामारीबाट जनताको रक्षा, संविधानको रक्षा, नेपाली काँग्रेस बचाउने दायित्व आएको पौडेलले बताए ।

लोकतन्त्र बचाएर राष्ट्र बचाउने जिम्मेवारी छ । काँग्रेस एकताबद्ध र सक्षम हुन सकेन भने हामी त्यो जिम्मेवारी पुरा गर्न सक्दैनौँ ।