भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ हजार ५११ जनाको मृत्यु

११ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का १ लाख ९६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा गत अप्रिल १४ यता पहिलोपटक दैनिक नयाँ संक्रमितको संख्या २ लाखभन्दा कममा झरेको हो ।

पछिल्लो समय भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तरको कमी देखिएको छ । यद्यपि अन्य मुलुकको तुलनामा भने भारतमा कोरोना संक्रमण उच्च छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३ हजार ५११ जनाको मृत्यु भएको हो ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६९ लाख नाघेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ७ हजार २३१ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २५ लाख ८६ हजारमा झरेको छ ।