कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु

११ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो ३ः५० बजे दिउँसोदेखि आज बिहान ६ः३० बजेसम्म यी संक्रमितको मृत्यु भएको हो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ३ जना दाङ र २ जना बर्दियाका छन् ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बैजनाथ गाउँपालिका– ४ बाँकेका ३८ वर्षीया महिलाको हिजो दिउँसो ३ः५० बजे र कोहलपुर नगरपालिकाका ४७ वर्षीय पुरुषको हिजो साँझ ६ बजे मृत्यु भएको हो ।

यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१८ की ८५ वर्षीया महिलाको हिजो साँझ ६ः२० बजे, कोहलपुर नगरपालिका–१० बाँकेकै ७१ वर्षीय पुरूषको आज विहान ५ः४० बजे र खजुरा गाउँपालिका–४ बाँकेकी ३२ वर्षीया महिलाको आज विहान ६ः३० बजे मृत्यु भएको हो ।

यस्तै भेरी अस्पतालमै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–८ दाङका ५६ वर्षीय पुरूषको हिजो दिउँसो ४ः३० बजे र तुलसीपुर उपमहानगरपालिका–१२ दाङकी ४० वर्षीया महिलाको हिजो राति ९ः१० बजे मृत्यु भएको छ भने घोराही उपमहानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आज विहान २ः १५ बजे मृत्यु भएको हो ।

यस्तै बाँसगढी नगरपालिका–३ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–६ बर्दियाकी ६० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा हिजो राति ११ः३० बजे मृत्यु भएको हो ।