कस्ता ठाउँका रोजगारीलाई कोरोना भाइरस जोखिम हुन्छ

कदर समाचार
२६ चैत, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण विश्वभर नै छ । अहिलेसम्म विश्वका २०९ देश र क्षेत्रमा यसको संक्रमण देखिइसकेको वल्र्डोमिटरको तथ्यांक छ । १४ लाख भन्दा बढीको संक्रमण र ८३ हजार भन्दा बढीको मृत्यु भइसकेको यो रोगको संक्रमणका कारण कतिपय अर्थतन्त्रहरु अहिले मन्दीको अवस्थामा छन् । तर यसले विश्वको रोजगारीमा चाहिँ कस्तो प्रभाव पारेको छ त ? अन्तर्राष्ट्रिय श्रम संगठनले अहिलेको अवस्थामा रहेर विश्वको श्रमशक्तिको अवस्थाबारे एउटा तथ्यांक सार्वजनिक गरेको छ । जसमा कोरोना भाइरसको संक्रमणपछि विश्व रोजगारीको अवस्था र भविष्यमा त्यसले पार्नसक्ने प्रभावबारे अनुमान गरिएको छ ।
उक्त तथ्यांक अनुसार अहिले विश्वका ८१ प्रतिशत जागिर कोभिड–१९ को संक्रमणबाट प्रभावित छन् । त्यसमध्ये केहीले पूर्ण रुपमा रोजगारी गुमाएका छन् भने केहीले आंशिक क्षति व्यहोरेका छन् ।
फेब्रुअरीको सुरुसम्म विश्व रोजगारीमा यसको प्रभाव शुन्यप्रायः थियो । मार्चको सुरुसम्म यो २० प्रतिशतभन्दा माथि पुगेको थियो । मार्च अन्तिमसम्म आइपुग्दा यो एक्कासी बढेर ८१ प्रतिशत पुगेको हो ।
२० करोड जनसंख्याको गुम्छ रोजगारी
२०२० को दोस्रो त्रैमासमा कुल १९ करोड ५० लाख जना बराबरको रोजगारी गुम्ने अनुमान गरिएको छ । यो विश्वको कुल रोजगारीको ६.७ प्रतिशत हो । अहिले विश्वमा कुल ३ अर्ब ५० करोड श्रमशक्ति रहेको आईएलओको अनुमान छ ।
कारोनाका कारण एशिया र प्यासिफिक क्षेत्रमा क्षेत्रमा १२ करोड ५० लाख, अमेरिकामा २ करोड ४० लाख, अप्रिकामा १ करोड ९० लाख, युरोपमा ८० लाख र अरब मुलुकहरुमा ५० लाख जनाको पूर्णकालीन काम बराबरको रोजगारी गुम्ने प्रक्षेपण गरिएको छ ।
अरब मुलुकमा यो संख्या कम देखिए पनि प्रतिशतका आधारमा यो क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यो क्षेत्रमा कुल रोजगारीको ८.१ प्रतिशत रोजगारी गुम्ने अनुमान गरिएको छ ।
यो दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अवस्था हो ।
आईएलओ भन्छ, दुईओटा कारणले मुख्य रुपमा रोजगारीको स्तरलाई निर्धारण गर्छ । पहिलो, २०२० को दोस्रो त्रैमासमा अर्थतन्त्रले कति रिकभरी गर्न सक्छ । र दोस्रो, श्रमलाई बढावा दिने नीतिगत निर्णयहरु कस्ता आउँछन् । तर यो वर्षको अन्त्यमा यसअघिको अनुमानभन्दा २ करोड ५० लाख भन्दा बढीको रोजगारी गुम्ने सम्भावना आईएलओले अनुमान गरेको छ ।
उत्पादन र सेवा क्षेत्रमा बढी असर
कोरोनाभाइरसका कारण अहिले विभिन्न तवरबाट अर्थतन्त्रमा प्रभाव पारिरहेको छ । भ्रमणलाई ज्यादै सीमित बनाइएको छ ।
अहिले विश्वको कुल रोजगारी मध्ये कृषि क्षेत्रमा २६.५ प्रतिशत, खुद्रा क्षेत्रमा १४.५ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा १३.९ प्रतिशत, निर्माण क्षेत्रमा ७.७ प्रतिशत, यातायात क्षेत्रमा ६.१, मनोरञ्जन क्षेत्रमा ५.४ प्रतिशत, शिक्षा क्षेत्रमा ५.३ प्रतिशत छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा ४.१ प्रतिशत र वित्तीय क्षेत्रमा १.६ प्रतिशतले रोजगारी पाइरहेका छन् ।
सामाजिक जीवनमा रोक लगाइएका कारण अहिले सबैभन्दा बढी उत्पादनमूलक, खुद्रा र खाद्य क्षेत्रमा सबैभन्दा बढी, यातायात, वित्तीय क्षेत्र, मनोरञ्जन र निर्माण क्षेत्रमा मध्यम र कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा कम प्रभाव पर्ने आईएलओको अनुमान छ ।
बणी प्रभाव परेका आवास, खाद्य, सेवा, निर्माण, थोक तथा खुद्रा, घरजग्गा र व्यापार क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्ने क्षेत्रको कुल श्रमशक्तिको ३८ प्रतिशत हो ।

(बिबिसीको सहयोगमा)